वातावरण संरक्षण मञ्चद्वारा बृक्षारोपण

वातावरण संरक्षण मञ्चद्वारा बृक्षारोपण

वातावरण संरक्षण मञ्चद्वारा बृक्षारोपण

भक्तपुर। विगत लामो समयदेखि वातावरण संरक्षण मञ्चले भक्तपुरमा वातावरण स्वच्छ राख्ने कार्यमा विभिन्न कार्यक्रम गर्दै आईरहेको छ। यसै क्रममा विश्व वातावरण दिवसको अवसर पारेर गत जेठ २० गते शनिवार चाँगुनारायण नगरपालिका वडा नं. ७ मुहानपोखरी क्षेत्रको वहाल सामुदायिक वनमा वृक्षारोपण गरेको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवं चाँगुनारायण नगरपालिका वडा नं. ७ का अध्यक्ष श्यामकृष्ण नयाजु श्रेष्ठले वातावरणको क्षेत्रमा मञ्चले गरेको योगदानको प्रशंसा गर्नुभयो। उहाँले मुहानपोखरीदेखि वडा कार्यालयको दुबैतर्फ रुख रोपेर सडकमा हरियाली छाउने योजना रहेको सुनाउँदै रोपिएको विरुवाको संरक्षण गर्ने प्रतिवद्धता जाहेर गर्नुभयो ।

कार्यक्रमका अर्का अतिथि बहाल वन १२३ उपभोक्ता समितिका अध्यक्ष रामप्रसाद लामिछाने ( पारिघर) ले वृक्षारोपण गरेर जोगाउने गान्हो भएको अनुभव सुनाउनु भयो । टाढादेखि विभिन्न संघ संस्थाहरु आएर आफ्नो गाउँमा वृक्षारोपण गरेकोमा धन्यबाद दिँदै अध्यक्ष लामिछानेले आगामी दिनमा पनि यस्ता कार्यक्रम गरेमा आफ्नो तर्फबाट हदैसम्मको सहयोग हुने प्रतिवद्धता व्यक्त गर्नुभयो । सो अवसरमा वातावरण संरक्षण मञ्चका अध्यक्ष न्हुछेबहादुर प्रजापतिले वातावरण जोगाउन रुख, बोट, विरुवाले महत्वपूर्ण भूमिका खेल्ने भएकाले आफ्नो प्राथमिकता वृक्षारोपणमा परेको बताउनुभयो । उहाँले मञ्चको आफ्नो कुनै आम्दानीको स्रोत नभएको तर वातावरण सम्वन्धि विज्ञहरु भएकाले उनीहरुलाई उपयोग गर्न बजेट आवश्यक पर्ने भएको हुँदा सहयोग गर्न आग्रह गर्नुभयो ।

कार्यक्रमका सहयोगीहरु त्रिनेत्र साकोस, वाराहीका अध्यक्ष दिनेश धीवन्जार तथा शुभकामना साकोस, सूर्यविनायकका कार्य समिति सचिव पुष्पलाल तिमलाले सहकारीले पैसा कमाउने मात्र नभई सामाजिक सेवा पनि गर्नु पर्ने विचार व्यक्त गर्नुभयो । हरेक वर्ष विभिन्न क्षेत्रको सामाजिक कार्यमा खर्च गर्ने गरेको रकम यसपटक वातावरण हराभरा राख्न वृक्षारोपणमा गरेको धारणा व्यक्त गर्नुभयो । सो अवसरमा पूर्व प्रहरी नायव उपरीक्षक विष्णु प्रसाद लामिछानेले रंगशाला बनाउने निहुँमा वन फडानी गर्नबाट आफूले रोक्न सफल भएको बताउनुभयो ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका कार्यसमिति सदस्य रोशन भयद्यो, भक्तपुर उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष रोशनी मैयाँ धौवन्जार, शुभकामना साकोसका उपाध्यक्ष निर्मला सुवाल, प्रवन्धक रेश्मी श्रेष्ठ, त्रिनेत्र साकोसका प्रवन्धक उत्तम सापकोटालगायत उहाँहरुको टिमको सहभागिता रहेको थियो । वातावरण संरक्षण मञ्चका महासचिव मणिराम लामिछानेले दिएको जानकारी अनुसार प्रहरी प्रभाग खरिपाटीका प्रहरीहरु, शिक्षक, विभिन्न संघ संस्थाका प्रतिनिधि तथा स्थानीय बासिन्दाको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा विभिन्न १७ जातजातिका फलफुल तथा फूलका विरुवाहरु रोपिएको थियो। जसमा अम्वा, ओखर, राजवृक्ष, तेजपात, जमुना, जकरान्त फूल, कल्की फूल. बेलपत्र, पारिजात, अमला, चाँप, श्रीखण्ड, कपुर, लप्सी, कोइरालो, रिट्ठा, इम्ली रहेको महासचिव लामिछानेले जानकारी दिनुभयो । कार्यक्रममा विभिन्न जातजातिका विरुवाहरु वितरण पनि गरिएको थियो ।